झापा, १४ कात्तिक– छिमेकीबाट बलात्कृत झापा जलथल–८ की ११ वर्षीया बालिकाका अभिभावकलाई पीडक पक्षले दबाब दिएर लेनदेनमा मुद्दा मिलाउन खोजेको खुलासा भएको छ ।
बालिका बलात्कारको अभियोगमा पक्राउ परेका स्थानीय रामकृष्ण गौतमको परिवारले पीडित पक्षलाई पैसामा मुद्दा मिलाउन निरन्तर धम्की दिँदै आएको जानकारी पीडितले अधिकारकर्मीलाई गराएका छन् ।
गत असोज २३ गते गौतमले बालिकालाई घरमा कोही नभएको मौका छोपी मोबाइलमा रहेको अश्लील भिडियो देखाएर यौनशोषण गरेका थिए श्र
बलात्कृत बालिका चिच्याएपछि स्थानीय अर्की बालिकाले देखेर गाउँलेलाई खबर गरेकी थिइन् । लगत्तै गौतमलाई गाउँलेले नै नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता पीडक गौतमकी श्रीमती र दाजु टङ्कमणिले पीडितकै घरमा गएर ५० हजारमा मुद्दा नमिलाए ज्यान मार्ने धम्की दिएको पीडित पक्षले बताएको छ ।
एकीकृत विकास प्रतिष्ठानको मानवअधिकार डेस्कका प्रमुख विष्णुप्रसाद खरेल र युथ एक्सन झापा संयोजक दीपक दासको नेतृत्वमा अधिकारकर्मीको टोलीले जलथल पुगेर घटनाको स्थलगत अनुसन्धानसमेत गरेको छ ।
खरेलका अनुसार आरोपी गौतमले बलात्कृत बालिका राम्रोसँग बोल्नसमेत नसक्ने अवस्थामा छिन् । पीडित बालिकाका आमाबुबा दुवै अपाङ्ग रहेकाले बालिकाको उपचार र सुरक्षाको व्यवस्था मिलाउनसमेत अधिकारकर्मीले माग गरेका छन् ।