नुवाकोट, १३ कात्तिक– नुवाकोटको प्रसिद्ध भैरवी मन्दिरबाट मुर्ती चोर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीले चोरी भएको मुर्तीसहित ८ जनालाई बिहीबार बट्टार बजारबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रसुवा श्रमथली–५ का प्रदीप मोक्तान, नुवाकोट सामरी–१ का संयोग नेपाली, खड्गभञ्याङ–६ का योगेन्द्र अधिकारी, विदुर नगरपालिका–१ का सुरेश तामाङ, विदुर नगरपालिका–८ का विजय आलेमगर र सुब्बा सुर्खेती, मनकामना–३ का तोरण लामा र सूर्यमति–२ का दीपक थापामगर छन् ।
उनीहरुका साथबाट चोरी भएको भैरवीको मुकुट, चाँदीको सिक्रीको टुक्रा र दान पेटिका बरामद भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अरुणकुमार पौडेलले जानकारी दिए । उनका अनुसार चोरी भएकामध्ये सिक्कासहितको करुवा, ढोकाको ताल्चा र चाँदीको सिक्रीको एक टुक्रा बरामद हुन बाँकी छ ।
पौडेलले घटनामा संलगन तीन जना फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको बताए । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । नुवाकोटको एतिहासिक तथा पुरातात्विक महत्वको भैरबी मन्दिरबाट गत साउन ३१ गते राति मुर्तीसहितका सामान चोरी भएका थिए ।