नारायणकाजी बालुवाटारमा कड्केपछि प्रधानमन्त्रीले यातायात मन्त्रीलाई फोन गरेर भने, ‘गाडी भाडा नबढाऊ’

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक सवारी साधानको भाडा बढाए आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले narayankaji shresthaतत्काल भाडा बढाउने निर्णय कार्यान्वयन नगर्ने भएको छ ।
तीन दल बैठकमा सहभागी हुन माइक्रो चढेर बालुवाटार पुगेका श्रेष्ठले प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमलाई भाडा बढाउने निर्णय तत्काल फिर्ता लिन भनेका थिए ।

उनले आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएका बेला व्यवसायीको अनुचित दबाबमा सरकारले भाडा बढाउन लागेकाले आफूले जनता सडकमा उतारेर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

श्रेष्ठको चेतावनीपछि प्रधानमन्त्री कोइरालाले यातायातमन्त्री बिमलेन्द्र निधिलाई तत्काल टेलिफोन गरी भाडा नबढाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ‘पेट्रोलियम पदार्थको मूल्य घट्ने अनि गाडी भाडा चाहिं बढ्ने यो वैज्ञानिक कुरा हुन सक्दैन’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘मैले भाडा बढाए आन्दोलन गर्छु भनेपछि प्रधामन्त्रीले विभागीय मन्त्रीलाई भाडा वृद्धिको निर्णय कार्यान्यवन नगर्न भन्नुभएको छ ।’

प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन नभए आफूले जनतालाई सडकमा उतारेर भाडा वृद्धिविरुद्ध सशक्त आन्दोलन गर्ने उनले बताए । यातायात व्यवस्था विभागले व्यवसायीको दबाबमा आगामी कात्तिक १५ गतेदेखि सार्वजनिक सवारीको तत्कालको भाडादरमा ५.६३ प्रतिशत, ट्रक तथा ट्रिपरसहित मालबाहक सवारीमा ५.२७, तराईमा ५.२१ प्रतिशत र ट्याक्सीमा ६.७८ प्रतिशतले वृद्धि गर्ने जनाएको थियो ।

काठमाण्डु उपत्यकामा गाडी चढ्ने बित्तिकै १६ रुपैयाँ भाडा लगाउने तयारी थियो ।  यसअघि बुधबार संसदको सार्वजनिक लेखा समितिले पनि सार्वजनिक सवारीको भाडा नबढाउन सम्वद्ध पक्षलाई निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us