रारामा जलवायु सम्मेलन सुरु

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते १२:३९ मा प्रकाशित

मुगु, १३ कात्तिक – मुगुको रारा तालको किनारामा जलवायु सम्मेलन सुरु भएको छ ।

raraविज्ञान, प्रविधि तथा वातवारण मन्त्रालय एवं कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रले संयुक्त आयोजना गरेको सम्मेलन उद्घाटन कार्यक्रममा योजना आयोग उपाध्यक्ष प्रा गोविन्द पोखरेलले कर्णाली अञ्चलमा जलवायु परिवर्तनबाट जोगिने उपायको अध्ययन गर्न ‘जलवायु परिवर्तन अनुकुलन अध्ययन केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पोखरेलले कर्णालीको उपयुक्त स्थानमा जलवायु परिवर्तनबाट जोगिने उपायबारे अध्ययन गर्न यस्तो केन्द्र स्थापनाको पहल गर्ने बताएका हुन् ।

जलवायु परिवर्तनका कारण हिमाली जनजीवन खतरामा परेको र कर्णालीका जनताले थप संकट व्यहोर्ने अवस्था आएको भन्दै जलवायु अध्ययन केन्द्र स्थापना गर्न पहल थाल्ने उनले बताए ।

उपाध्यक्ष पोखरेलले भने -कर्णालीको जनजीवनलाई मात्र होइन, हिमाली जीवन जोगाउन अब जलवायु परिवर्तनसँग अनुकुल हुने खालका खेतीपाती नगर्ने हो भने कर्णालीको गरिबी अझै बढ्छ, हामीले कर्णालीको विकासका नाममा जति खर्च गरे पनि केही हुँदैन ।’

जहातहीं मनपरी ढंगले खनिएका सडकका कारण पछिल्ला दिनहरुमा पहिरो र बाढीलगायतका प्राकृतिक विपत्ति निम्तिरहेकाले अब गरिने विकासमा अध्ययन आवश्यक भएको बताए ।

कार्यक्रममा वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले कर्णालीमा जलवायु अध्ययन केन्द्र स्थापना गरेर नेपालको सम्पूर्ण हिमाली जनजीवन जोगाउन सरकारले सघाउने बताए ।

‘स्वर्गकी अप्सरा’ भनेर चिनिने सुन्दर रारा तालको किनारामा २ दिनसम्म चल्ने जलवायु सम्मेलनको उद्घाटन राराको माटो छोएर गरिएको थियो ।

सम्मेलनमा प्राध्यापक ड पिताम्बर शर्माले कार्यपत्र प्रस्तुत गर्दै नखाएको विष लाग्दैन भन्ने नेपाली उखानलाई जलवायु परिवर्तनले उल्ट्याएको बताए ।

शर्माले भने ‘कार्वन उत्सर्जन गरेर जलवायु परिवर्तन गर्ने ठूला र विकसित राष्ट्रले गरेको अपराधको सजायँ हामीले भोग्नुपरेको छ । हामीले नखाएको विष लागेको छ ।’

डा शर्माले इतिहासमा गौरवशाली मानव सभ्यताको थलो कर्णाली र हिमाली क्षेत्र वर्तमानमा उपेक्षित र जलवायु परिवर्तनका कारण संकटमा परेको बताए । उनले जलवायु परिवर्तनबाट जोगिन हिमाली क्षेत्रमा वैकल्पिक उर्जा एवं जलवायु परिवर्तन अनुकुलका कृषि खेती थाल्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us