धर्म परिवर्तनको नाममा पैसाको खोलो बगाउन नछोडे धार्मिक क्रान्ति गर्ने चेतावनी

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ९:२३ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक – विभिन्न धार्मिक संघसस्थाहरुले नेपालमा धार्मिक संस्थाहरुवीच एकता गर्न र मोर्चा तयार गर्ने उद्देश्यले यही कार्तिक १५ र १६ गते धार्मिक सम्मेलन गर्ने भएको छ ।

dharma sammelanबिहिबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय धार्मिक संघ संस्था बृहत् सम्मेलन २०७१ आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सनातन हिन्दू धर्मसंस्कारलाई नाश गर्ने षडयन्त्रको विरुद्ध मोर्चाबन्दी गर्नका लागि यही कार्तिक १५ र १६ गते काठमाण्डुको कोटेश्वरमा धार्मिक सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रममा राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले नेपालमा पैसाको खोलो बगाएर धर्म परिवर्तन गर्ने काम भएकोमा घोर भत्र्सना गर्दै यस्ता धार्मिक अपराधका काम तत्काल नरोकिए आफूहरु बाध्य भएर धार्मिक क्रान्ति गर्ने चेतावनी दिएका छन् ।

भट्टराईले भने–‘‘ धर्म परिवर्तन नरोके हामी बलिदान गर्न पनि तयार छौं । धर्मको नाममा हुने हाम्रो सभ्यता सिध्याउन खोज्नेहरुलाई हामी निमिट्यान्न पार्छौ ।

त्यस्तै हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पनि सनातन हिन्दू बाहुल्य समुदायको भोट प्राप्त गरेर हिन्दूहरुकै धर्मसंस्कारलाई नाश गर्ने षडयन्त्रको विरुद्ध देश भरि रहेका धार्मिक संघ सस्थाहरुलाई एकजुट गर्न आफूहरुले धार्मिक सम्मेलन गर्न लागेको उद्घोष गरेका छन् ।

विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका सभापति निल प्रसाद भण्डारीले नेपालका राजनीतिक दलहरुले एकतर्फी रुपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको भन्दै त्यसको विरुद्धमा आफूहरु एक भएर लागिपर्ने बताएका छन । उनले उक्त सम्मेलनले सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न समेत टेवा पुग्ने विश्वास लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us