संवाद समिति अनौपचारिक छलफल व्यस्त

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ९:०८ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक – संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग संविधान निर्माणका विविध पक्षबारे छलफल गरेको छ ।

baburam bhattaraiसमितिको कार्यालय सिंहदरबारमा बिहिबार भएको अनौपचारिक छलफल संविधान निर्माण प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए ।

उनले आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले)का महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानका बारेमा परामर्श गर्नुभएको थियो ।

संवाद समितिको असोज ११ गते बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षसँग अनौपचारिक कुराकानी गर्ने र १४ गते औपचारिक बैठक राख्ने निर्णय गरेअनुसार नै सभापति भट्टराईले अनौपचारिक छलफललाई निरन्तरता दिएका हुन् ।

छलफलपछि सभापति भट्टराईले भने , “उहाँहरुसँग संविधानका विवाद टुङ्ग्याउन बाँकी रहेका विषयको निरुपण कसरी गर्ने भन्ने विषय र अर्कोचाहिँ हामी आफैँले निर्धारण गरेको समयसीमा पटक–पटक पालना गर्न नसक्दा जुन खालको परिस्थिति सिर्जना भएको छ त्यसलाई कसरी सम्हाल्नु उपयुक्त होला भनेर परामर्श गरेँ । उहाँहरुले महत्वपूर्ण सुझाव दिनुभएको छ ।”

आजै हुने प्रमुख तीन दलबीचको छलफलपछि शुक्रबार बस्ने संवाद समितिको बैठकले औपचारिक निर्णय गर्ने सभापति भट्टराईले जानकारी दिनुभयो ।

संवाद समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्दैछ ।

छलफलपछि बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू धर्म सापेक्ष राज्य र गणतन्त्रको विषयमा पनि जनतामा जान पाउनुपर्ने धारणा राखेको बताए ।

छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने सङ्घीयताले नै संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारोमा पारेकाले उक्त विषयलाई थातीमा राख्नुपर्ने धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us