नेसनल ट्रेडिङको जग्गा पार्टी प्यालेसलाई

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते २:३३ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– नेसनल ट्रेडिङ लिमिटेडले वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अटेर गर्दै अमूल्य जग्गा पार्टी प्यालेस सञ्चालन गर्न निजी क्षेत्रलाई भाडामा दिएको छ ।
वाणिज्यमन्त्री सुनीलबहादुर थापाको निर्देशन अटेर गर्दै नेसनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले दुई ठाउँको आठ रोपनी जग्गा भाडामा दिएका हुन् । मन्त्री थापाले पार्टी प्यालेस सञ्चालन गर्न कुनै पनि जग्गा भाडामा उपलब्ध नगराउन नेसनल ट्रेडिङलाई पटकपटक निर्देशन दिएका थिए ।
स्रोतका अनुसार निमित्त महाप्रबन्धक मेहताले मिलेमतोमा रामशाहपथस्थित ट्रेडिङ हाताभित्र रहेको करिब तीन रोपनी जग्गा पार्टी प्यालेस सञ्चालन गर्न यलम्बर अटो सेन्टरलाई उपलब्ध गराएका छन् । उक्त जग्गाको लम्बाइ ३० मिटर र चौडाइ ३५ मिटर रहेको छ ।
स्रोतका अनुसार मेहताले मिलोमतो गरेर अटो सेन्टरलाई सवारीसाधन मर्मतसम्भार गर्न वर्कसपका लागि जग्गा दिए पनि त्यहाँ अहिले यलम्बर पार्टी प्यालेस सञ्चालन गरिएको छ । दुई लाख ३९ हजार रुपैयाँ मासिक भाडा आउने गरी यसै आर्थिक वर्षको सुरुमा पाँच वर्षलाई जग्गा दिइएको हो ।
चार वर्षअघि रामशाहपथको करिब २५ रोपनी जग्गा नेसनल ट्रेडिङका तत्कालीन महाप्रबन्धक लक्ष्मणप्रसाद अग्रवाल र मेहता आफैं साक्षीसमेत रहेर ३० वर्षका लागि इन्फिनिटी स्ट्रक्चरलाई १६ तले मल्टिस्टोर भवन बनाउन भाडामा दिएका थिए ।
भाडा लागेकै बेला निमित्त महाप्रबन्धक मेहताले त्यसमध्ये केही जग्गा पार्टी प्यालेस सञ्चालन गर्न दिएका हुन् । एउटै जग्गा दुईपटकसम्म भाडामा लगाइएको स्रोतले बतायो । तत्कालीन व्यवस्थापिका संसद्को लेखा समितिले अर्को निर्णय नहुँदासम्म उक्त जग्गामा भवन निर्माण गर्न रोक लगाएको थियो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us