जनकपुर, १३ कात्तिक– मिथिलाञ्जलको महापर्व छठ श्रद्धालुले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको छ ।
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरेपछि यो पर्वको समापन हुने परम्परा छ ।
श्रद्धालुले सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुकमिनी सर, अग्निकुण्डलगायतका पोखरी र तलाउमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर आफ्नो खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ चढाएका थिए ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने विश्वास छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यतिकै छन् ।
वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मनमा भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले सोही कुराको प्राप्तिका लागि यो पर्वको पूजापाठ गरी मनोवाञ्छित फल प्राप्त गर्ने विश्वास गर्छन् ।