काठमाण्डु, १२ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
आफू पक्षधर नुवाकोट र रसुवाको कार्यकर्ता भेलालाई बुधबार काठमाण्डुको मनमैजुमा सम्बोधन गर्दै भट्टराईले ००६ सालबाट सुरु भएको कम्युनिष्ट आन्दोलनले एउटा अध्याय पार गरेको भन्दै नयाँ अध्यायको नेतृत्व एमाओवादीले गर्न नसक्ने बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नका लागि नयाँ शक्ति, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठनात्मक संरचना र नयाँ नेतृत्व जरुरी रहेको उनको भनाइ थियो ।
‘वर्तमान एमाओवादी नेतृत्व, विचार, कार्यशैली र संगठनात्मक संरचनाले नेपाली कम्युनिष्ट आन्दोलन अगाडि लान सक्दैन’, भट्टराईको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागी एमाओवादी नुवाकोटका सदस्य नवराज ढुंगानाले काठमाण्डु टुडेसँग भने, ‘पुष्पलालको पालाबाट सुरु भएको कम्युनिष्ट आन्दोलनको एउटा अध्याय सकिएको छ, अब नयाँ विचार, नयाँ नेतृत्व, नयाँ संगठन र कार्यशैलीले मात्र कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्छ ।’
भट्टराईले एमाओवादी पूरानो शक्तिमा परिणत भइसकेको दाबी गरे । ढुंगानाका अनुसार भट्टराईले एमाओवादीको तलदेखि माथिसम्मको तप्का भ्रष्ट, तस्कर र दलालहरुको झुण्डमा परिणत भएको आरोप लगाए ।
प्रचण्ड भाग्न खोज्दैछन्
नेता भट्टराईंले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान निर्माण प्रक्रियाबाट भाग्न खोजेको आरोप लगाए । यद्यपि आफूले प्रचण्डलाई संविधान निर्माण प्रक्रियाबाट भाग्न नदिएको दाबी उनको थियो ।
प्रचण्डलाई संविधान निर्माण प्रक्रियाबाट भाग्न नदिनकै लागि आफूले पहल गरेर उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाएको समेत उनले बताए ।
‘प्रचण्डजी संविधान निर्माण प्रक्रियाबाट भाग्न खोज्दै हुनुहुन्छ’, भट्टराईले भने, ‘म उहाँलाई भाग्न नदिन कोसिस गरिरहेको छु, उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पनि त्यही भएर बनाइएको हो ।’