एमाओवादीको भट्टराई पक्षीय पाँच नेतामाथि कारबाही

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते १४:५८ मा प्रकाशित

नुवाकोट, १२ कात्तिक– एकीकृत माओवादी नुवाकोटले समानान्तर कमिटी गठन गर्ने पाँच जिल्ला नेतामाथि कारबाही गरेको छ ।
maoist-flagपोलिट्ब्युरो सदस्यद्वय नारायणप्रसाद दाहाल र हितबहादुर तामाङको उपस्थितिमा बुधबार बसेको जिल्ला कमिटी बैठकले उनीहरुलाई अनिश्चितकालका लागि निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा जिल्ला समिति सदस्यहरु राजकुमार रेग्मी, गणेश अधिकारी, नवराज ढुंगाना, गोकर्णनाथ न्यौपाने र रजमान तामाङ छन् । एमाओवादी नुवाकोटका सचिव पुष्प लामिछानेले पार्टी हित, अनुशासन र पद्धतिविपरीत समानान्तर कमिटीको अभ्यास गरेकाले उनीहरुमाथि कारबाही गरिएको बताए ।

यद्यपि उनीहरुलाई रुपान्तरण गरेर पुन: पार्टी जिम्मेवारीमा फर्काउन पहल गरिने पनि उनले जनाए । समानान्तर कमिटी खारेज गरेर रुपान्तरण हुन चाहे कारबाही तत्काल फिर्ता हुने लामिछानेको भनाइ छ ।

‘वर्ग संघर्ष पेचिलो बन्दै गएको र राजनीतिक संकट चुलिएका बेला मिलेर लड्नुपर्ने बेलामा उहाँहरुबाट पार्टी हित, अनुशासन र पद्धतिविपरीत गतिविधि भएकाले निलम्बन गरिएको छ’, लामिछानेले भने, ‘उहाँहरु रुपान्तरित भएर आउन चाहनुभयो भने निर्णयमा पुनर्विचार हुन्छ ।’
यस्तै बैठकले पार्टी संगठनमा पद ओगटेर जिम्मेवारी पूरा नगर्ने नेता कार्यकर्तामाथि समेत कारबाही गर्दै जाने निर्णय गरेको लामिछानेले बताए । ‘अन्यको हकमा पनि जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही गर्दै जाने र पार्टीमा दण्ड र पुरस्कारको व्यवस्थालाई कडाइका साथ लागू गर्नु कुरा भएको छ’, उनले भने ।

यसअघि मंगलबार मात्रै समानान्तर कमिटी गठन गरेको आरोपमा एमाओवादी रसुवाले भट्टराई पक्षधर पूर्वसभासद प्रेमबहादुर तामाङसहित आधा दर्जन जिल्ला नेतालाई साधारण सदस्यतासमेत नरहने गरी निलम्बन गरेको थियो ।

यसैबीच कारबाहीमा पर्नेहरुले संस्थापनले गरेको निलम्बनको निर्णयलाई हास्यास्पद भनेका छन् । निलम्बन पर्ने मध्येका एक नवराज ढुंगानाले आफूहरुले समानान्तर कमिटी नभई वैचारिक व्यवस्थापन समिति गठन गरेको दाबी गरे ।

आफूहरुमाथि कारबाही भएपछि भने समानान्तर कमिटी गठनको बाटो खुलेको उनको भनाइ छ । ढुंगानाले छिट्टै समानान्तर कमिटी घोषणा गरी पार्टी कार्यालय खोल्ने जानकारी दिए ।

‘हामीले बहस गर्न खोज्दा खोज्दै उहाँहरुले निषेधको राजनीति गर्नुभयो’, ढुंगानाले भने, ‘फरक विचारलाई निषेध गर्ने स्टालिनपन्थी प्रवृत्तिले हामीलाई समानान्तर कमिटी गठन गर्न बाध्य पारेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us