उदयपुर , १२ कात्तिक – साउने खाँबु गाविसको साउने बजारमा आज बिहान ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ जिल्लाको बतासे गाविस–१ बस्ने रामेश्वर राईका छोरा वर्ष १३ का सन्जोग राई रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
खोटाङबाट उदयपुरको सदरमुकाम गाईघाट झर्ने क्रममा साउने बजारमा बसबाट उत्रेका राईलाई स१ख ५०५६ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभयो ।
राईलाई ठक्कर दिने ट्रक गाईघाटबाट फोक्सिङटार बजारतर्फ चामलको बोरा बोकेर गइरहेको थियो । अहिले राईको शवलाई घटनास्थलबाट प्रहरीले निरीक्षण तथा मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने तयारी गरिरहेको छ ।
यता, राईलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । रासस