जनताको पक्षमा नभएको सुकुम्बासी आयोग विघटन हुनुपर्ने : चटौत

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ८:१८ मा प्रकाशित

कञ्चनपुर, १२ कात्तिक – नेपाली काँग्रेसका सभासद् तारणीदत्त चटौतले सुकुम्बासी आयोगले ल्याएको नीति जनताको पक्षमा नभएकाले आयोग विघटन गर्नुपर्ने बताएका छन् ।

tariniबुधबार गाउँ एकाइ कमिटी झलारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद्मा छलफल गरेर मात्रै आयोग गठन हुनुपर्नेमा मन्त्रीको निर्णयमा आयोग गठन भएको बताए ।

जनताको पक्षमा आयोगले कार्य गरेको नदेखिएकाले विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ आयोग गठन गरिनुपर्ने उनको भनाइ छ । “सरकारमा सहभागी दुवै पार्टीको सहमतिमा आयोग गठन हुनुपर्ने भए पनि ७२ जिल्लामा एउटै पार्टीको नेतृत्वमा आयोगका पदाधिकारी चयन गरिनु आपत्तिको विषय हो” –उनले भने ।

सुकुम्बासी र अव्यवस्थित बसोवासलाई पाँच कट्ठाका दरले जग्गा वितरण गर्ने नीति ल्याउनु र दस्तुरमा समेत भारी वृद्धि गरिनु अन्यायपूर्ण भएको पूर्वमन्त्रीसमेत रहेका चटौतले बताए ।

विगतका आयोगले गरेको निर्णयलाई कार्यान्वयन गरी डेढ बिघासम्म जग्गा दिने प्रावधान लागू गरिनुपर्ने धारणा उनले व्यक्त गरे । प्रधानमन्त्रीसँग आयोगबारे छलफल गरी कात्तिक १५ गतेभित्र निर्णयमा पुगिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us