सार्वभौमिकता र अक्षुण्णतासहितको संविधान समयमै बनोस्: राष्ट्रपति

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ४:४२ मा प्रकाशित

ram baran yadavकाठमाण्डु, १२ कात्तिक– राष्ट्रपति रामवरण यादवले मिथिलाञ्चलको महान पर्व छडका अवसरमा शुभकामना दिएका छन् ।
बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति यादवले छठी माताले तोकिएकै समयमा संविधान जारी अग्रसर हुन दलका नेतालाई शक्ति प्रदान गर्ने विश्वास व्यक्त छन् । पूर्वनिर्धारित मितिमै मुलुकको सार्वभौमिकता र अक्षुण्णता कायम गर्ने संविधान बनोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।
यस्तै छठका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति परमानन्द झाले तोकिएकै मितिमा संविधान जारी गर्ने गरी दलहरुलाई एकजुट हुन छड पर्वले प्रेरणा देओस् भन्ने कामना गरेका छन् ।
यस्तै प्रधानमन्त्री सुशील कोइरालाले छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
छुट्टै मूल्यमान्यता र विश्वाससहितको मौलिक संस्कृति बोकेको यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, सद्भाव र हार्दिकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास प्रधानमन्त्रीको छ ।
नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्ने भन्दै उनले सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाटै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिने उल्लेख गरेका छन् ।
मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराएर स्वदेशमै विश्वका विकसित देशका नागरिकसरहका सुविधा पाउने अवसर सिर्जना गर्न सकिने विश्वास कोइरालाको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us