वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते २:१२ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यससँगै नेपालका श्रम गन्तव्य मुलुक १ सय १० पुगेका छन् ।

एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर ३५ हजार रुपैयाँमा माग ल्याएको हो । मागबमोजिम कामदारले दैनिक ८ घण्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ ।

रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर करिब ३० लाख रुपैयाँको बीमा र अपांगता भए १५ हजार डलर १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसाबले उज्वेकिस्तानमा धेरै चिसो छ ।

मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए । कुनै म्यानपावरले कामदारसँग भिसा, हवाई टिकट र सेवा शुल्क लिए कारबाही हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us