काठमाण्डु, ११ कात्तिक– नेपाली सेनाका अवकाशप्राप्त पूर्वप्रधानसेनापति र पूर्वरथीको सहभागितामा सोमबारदेखि सुरु भएको भेटरान भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समापन भएको छ ।
कार्यक्रममा प्रधानसेनापति गौरवशम्शेर राणाले सेनाको तालिम, परिचालन तयारीलगायत नियमित कार्य सहजरुपमा सम्पादन हुँदै आएको जानकारी गराए ।
अनुशासित, नैतिकवान एवम् क्षमतावान नेतृत्व वर्ग सेनाको मेरुदण्ड मात्र नभई राष्ट्रको आवश्यकतासमेत रहेको हुँदा ‘सैनिक सेवा नियमावली–२०६९’ लागू गरी अधिकृतलगायत सबै दर्जालाई योग्यताका आधारमा पदोन्नति दिने व्यवस्था भएको उनले बताएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उक्त कार्यक्रममा “दीर्घकालीन योजना–२०६९” को प्रगति प्रतिवेदन तथा समीक्षा, कल्याणकारी निर्देशनालय तथा कल्याणकारी बोर्डबारे प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रधानसेनापति तथा पूर्वरथी, रक्षा मन्त्रालयका पदाधिकारी एवम् वहालवाला रथीहरू गरी ६५ जनाको उपस्थिति थियो । रासस