एमालेले दोहोर्‍यायो चार प्रदेशको अडान

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते १३:०४ मा प्रकाशित

uml officeकाठमाण्डु, ११ कात्तिक– सत्तारुढ एमालेले फेरि चार प्रदेशको प्रस्ताव दोहोर्‍याएको छ ।
संविधानका विवादमा सहमति खोज्न एमाओवादी शीर्ष नेतासँग सिंहदरबारस्थित आफ्नै संसदीय दलको कार्यालयमा बसेको बैठकमा एमालेले उक्त प्रस्ताव राखेको हो ।

यसअघि प्रमुख तीन दलका शीर्ष नेताको गोकर्ण बैठकमा पनि एमालेले सोही प्रस्ताव राखेको थियो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले जातीय आधारमा कुनै हालतमा संघीयता स्वीकार नगर्ने बताए ।

उनका अनुसार बैठकमा अध्यक्ष केपी ओलीले जातीय आधारमा संघीयतामा जाँदा विभिन्न जातीय र सम्प्रदायमा मिलेर बसेको नेपाली समाज छिन्नभिन्न र विभाजित हुने बताएका थिए । गौतमका अुनसार ओलीले जातीय संघीयताको अडान त्याग्न एमाओवादी नेतृत्वलाई आग्रह गरेका थिए ।

‘तपाईंहरु जातीय संघीयताको कुरा छाड्नुस्’, ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘जातीय राज्यमा जाँदा मिलेर बसेको नेपाली समाज छिन्नभिन्न हुन्छ, भोलिको पुस्ताले अहिलेका हामी सबै नेतालाई धिक्कार्नेछ ।’ सकेसम्म थोरै प्रदेश बनाएर सबैलाई अधिकार दिनु राम्राे हुने उनको भनाइ थियो ।

जवाफमा माओवादीले कम्तिमा १० प्रदेश हुनुपर्ने भन्दै १० प्रदेश मुलुकले धान्न सक्ने बताएको थियो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयताको प्रारुपमा छलफल भए पनि कुरा नमिलेको जानकारी दिए । उनले सकेसम्म आगामी कात्तिक १५ गतेभित्र विवादित विषयमा सहमति खोजिने बताए ।

श्रेष्ठका अनुसार भोलि बुधबार काँग्रेस, एमाले र एमाओवादीबीच छुट्टाछुट्टै द्विपक्षीय छलफलहरु हुनेछन् । उनले बिहीबार पुन: तीन दल बैठक बसेर विवाद समाधानको प्रयासमा छलफल गर्ने उल्mेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us