काठमाण्डु, ११ कात्तिक– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक फेरि निष्कर्षहीन भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठक दलहरुको पूरानै अडानका कारण बिनानिष्कर्ष सकिएको हो । सहमति नभएपछि बैठक आगामी कात्तिक १४ गतेसम्मका लागि स्थगित भएको छ ।
बैठकमा आफूले विवादित विषयमा सहमतिका लागि आवश्यक सुझाव मागेको र नेताहरुले सुझाव दिएको समिति सभापति बाबुराम भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिए । भट्टराईले पछिल्लो पटक पाएको समयसीमाभित्र केही निष्कर्ष आउने विश्वास व्यक्त गरे ।
समितिको म्याद आगामी १५ कात्तिकमा सकिंदैछ । बैठकमा काँग्रेस–एमाले नेताले सहमतिको सम्भावना साँघुरिंदै गएकाले प्रक्रियामा जानुपर्ने बताएका थिए । प्रतिपक्षी एमाओवादी र मधेसवादी दलले भने सहमतिमै संधिवान जारी गर्नुपर्ने अडान दाहोर्याए ।
बैठकमा काँग्रेस सभासद गगन थापा र सदभावना सभासद लक्ष्मणलाल कर्णले नमिलेका विषयलाई अनुसूचीमा राखेर सहमति जुटेका विषयमा समितिले संविधानसभालाई प्रतिवेदन दिनुपर्ने बताए ।