बाबुआमाको मृत्युपछि चार छोरीको विचल्ली

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ७:३९ मा प्रकाशित

म्याग्दी, ११ कात्तिक – अरिङ्गालले चिलेर बाबुआमाको ज्यान गएपछि बेनी नगरपालिका–९ काउलेगौंडाका चार दिदीबहिनी विचल्लीमा परेका छन् ।

यही कात्तिक १ गते घर नजिकैको जङ्गलमा दाउरा काट्ने क्रममा अरिङ्गलले चिल्दा ५५ वर्षीय दल पुरी, उनकी पत्नी ४५ वर्षीया शिव पुरी र १२ वर्षीय छोरा आशिष पुरीको ज्यान गएको थियो ।

बाबुआमा र भाइको एकैपटक मृत्यु भएपछि १६ वर्षीया जेनिसा, १४ वर्षीया तारा, १० वर्षीया लीला र सात वर्षीया पिपला पुरी विचल्लीमा परेका हुन् । उनीहरुलाई अहिले किरिया खर्चको समेत अभाव भएको छ । घरका अभिभावक नभएपछि छोरीहरु साहराविहीन हुनुका साथै तत्काल खान र लगाउनसमेत समस्या भइरहेको स्थानीय काउलेगौंडा युवा क्बलका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।

बाबुआमा र भाइ गुमाउनुको पीडाले उनीहरु बोल्नसमेत नसक्ने अवस्थामा रहेका बानियाँले बताए । जेनिसा राष्ट्रिय मावि नेप्टेचौरमा कक्षा ७ मा अध्ययन गर्छिन् भने उनकी बहिनीहरु स्थानीय नरबुद्धि सल्लेरी प्राविमा क्रमशः ५, ३ र १ कक्षामा अध्ययन गर्छन् । बस्ने सामान्य झुपडीबाहेक अरु केही नभएका उनीहरुलाई खानपिनदेखि पढाइको समस्या भइरहेको छ ।

घरमा किरिया खर्चसमेत नभएपछि काउलेगौंडा युवा क्लबले सदरमुकाम बेनीबजारको विभिन्न क्षेत्र, गलेश्वर र तोरीपानीमा आर्थिक सङ्कलन अभियान चलाइरहेको छ । अहिलेसम्म एक लाख ५० हजार रुपैयाँ सङ्कलन भएको र थप सहयोग जुटाएर उनीहरुलाई हस्तान्तरण गर्ने क्लबले जनाएको छ । क्लबले सक्दो आर्थिक सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us