एक चीन नीतिलाई निरन्तरता दिन आग्रह

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ७:१८ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख लियो साङ जियाङ सुनबीच भेट भएको छ ।

OLYMPUS DIGITAL CAMERAमङगलबार प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा दुई देशको हितमा काम गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।

भेटमा लियो साङ जियाङ सुनले कुनै पनि चिनियाँ नागरिक शरणार्थीका रूपमा आउँछन् भने नेपालको अध्यागमन कानुनअनुसार कारबाही गरेर फिर्ता पठाउन आग्रह गरेका छन् । तिब्बत सरकारका अध्यक्ष लियोले नेपालको एक चीन नीति व्यवहारमै स्पष्ट रहेको र नेपाल चीनको पुरानो घनिष्ट मित्र भएको उल्लेख गर्दै तिब्बतको संवेदनशीलता बुझिदिएकामा आफूहरू खुसी रहेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।

नेपाल र चीन सम्बन्ध, सीमा सुरक्षा, सहयोग, तिब्बती शरणार्थीको विषयमा केन्द्रित रहेर नै छलफल भएको प्रचण्ड निवास सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्डले छिमेकसँगको सम्बन्धलाई नेपालले महत्त्व दिएको र चीनले नेपालको शान्ति प्रक्रिया, विकासमा देखाएको सद्भावप्रति खुसी व्यक्त गर्दै त्यो निरन्तर पाइरहने विश्वास व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय कानुन, मान्यता र चीनसँगको सम्बन्धलाई ध्यान दिएर नेपाल अघि बढिरहेको जानकारी उनलाई दिँदै एक चीन नीतिमा नेपाल सधै अडिग रहेको जानकारी प्रचण्डले भेटमा दिएको सचिवालयले बताएको छ ।

नेपाल र चीनबीच पुरानो र समस्यारहित सम्बन्ध रहेको भन्दै यसलाई अझ मजबुत बनाएर अघि बढ्ने विषयमा चिनियाँ पक्षले जोड दिएको सरकार प्रमुख लियोले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us