ठूला दलविरुद्ध किन यसरी जाइलागे साना दलका नेता ?

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ३:२४ मा प्रकाशित

upendra yadavकाठमाण्डु, ११ कात्तिक– संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलका नेताले संविधान निर्माणमा प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सिंहदरबारमा जारी बैठकमा उनीहरुले ठूला दल संविधान बनाउन गम्भीर नरहेको आरोप लगाएका हुन् ।

बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन ठूला दलले सहमतिका नाममा समय मात्र बर्बाद गरिहेको भन्दै आक्रोश पोखे । ‘तपाईंहरु खाली सहमति सहमति भन्नुहुन्छ’, यादवले भने, ‘तर कहिल्यै सहमति गर्नुहुन्न, तपाईंहरुको कारणले संविधानसभा बन्धक भइरहेको छ ।’

chitra bdr kcराष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले काँग्रेस, एमाले र एकीकृत माओवादीका कारण माघ ८ मा संधिवान जारी हुने सम्भावना क्षीण हुँदै गएको बताए  । उनले सहमतिका नाममा प्रक्रियामा नजानु गल्ती भएको बताए ।

माले महासचिव सिपी मैनाली र थरुहट तराई पार्टीका गोपाल दहितले पनि प्रमुख तीन दल समयमै संविधान ल्याउने पक्षमा नरहेको आरोप लगाए ।

समिति सभापति बाबुराम भट्टराईको पहलमा भावी संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा बैठक बसेको हो । समितिको पछिल्लोपटक थप गरिएको म्याद सकिन तीन दिन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us