बागलुङ, ११ कात्तिक– सशस्त्र प्रहरी बलका हवल्दारले तिहार बिदामा घर आएका बेला एक महिलालार्इ बलात्कार गरेका छन् ।
बागलुङ देविस्थान–९ का ३१ वर्षीय दीर्घप्रसाद शेरचनले घाँस काटेर फर्केकी स्थानीय महिलालाई कात्तिक ७ गते बेलुकी बलात्कार गरेका हुन् ।
जबर्जस्ती लछारपछार पार्दै लडाएपछि बेहोस भएकी उनलाई शेरचनले बलात्कार गरेका थिए । शेरचन चितवनमा कार्यरत छन् । टाउको र छातीमा घाउ लागेकी ती महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङले पक्राउ गरी शेरचनलाई जिल्ला प्रहरीमा पठाएको छ ।
आफू होसमा आउँदा शेरचन बलात्कार गरेर भागेको पीडित महिलाले बताएका छन् । ‘मैले प्रतिकार गर्दा मार्ने धम्कीसमेत दिएको थियो, पीडितले भनिन्, ‘बलत्कारपछि बेहोस भएँ, होस आएपछि सकी नसकी घर पुगें ।’
पीडित महिला टोलाइरहने, डराउने लगायतका लक्षण देखिएको छ । उनलाई महिला विकास कार्यालयले संचालन गरेको अल्पकालिन सेवा केन्द्रमा राखेर स्वास्थ्य उपचार गराइएको छ ।