काठमाण्डु, ११ कात्तिक– सभासदहरुले लैंगिक हिंसा विधेयकमा सौता र लोग्नेस्वास्नी शब्द परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
संसदमा विचाराधीन लैङ्गकि हिंसा विधेयकमाथि परेका ४४ मध्ये अधिकांश संशोधन महिलालाई सम्बोधन गरिने शब्दहरुमाथि परेका हुन् । हामीले महिला अधिकारकर्मी, अधिवक्ताहरुलाई बोलाएर छलफल र अन्तरक्रिया गरिरहेका छौं, विधायन समिति सभापति गंगा चौधरीले भनिन्, ‘विशेष गरी लोग्ने स्वास्नी, सौता, धर्मपुत्र–पुत्री लगायत शब्दहरु संसोधन गर्न प्रस्ताव आएका छन् ।’
६० जना संसोधनकर्ताबाट शब्द र व्यवस्थाहरुमा संसोधन परेको उनले जानकारी दिइन् । शारीरिक यातना तथा यौनजन्य हिंसाको कसुर गर्नेलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना र एकदेखि आठ वर्षसम्म कैद हुने प्रस्ताव विधेयकमा छ ।
सभासदहरुले उक्त सजाय बढाएर पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना र आठदेखि दश वर्ष कैद हुने व्यवस्था हुनुपर्ने प्रस्ताव राखेका छन् । जरिवाना र कैद थोरै हुँदा पीडक हिंसा गर्न नडराउने भएकाले कारबाहीको व्यवस्था कडा गर्नुपर्ने संशोधनकर्ता सभासदहरुको माग छ ।