
काठमाण्डु, १० कात्तिक – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसीबीच भएको निर्माण सम्झौतालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।
अनुमोदनपछि विमानस्थलको निर्माण कार्य प्रारम्भ हुने व्यवस्थापिका-संसद विकास समिति सभापति रवीन्द्र अधिकारीले बताए । उनले भने, ‘अब विमानस्थल बनाउने ढोकाहरु खुलेका छन् । चाँडै काम सुरु हुन्छ ।’
निर्माणाधीन विमानस्थल क्षेत्रका स्थानीय समेत रहेका कास्कीका सभासद अधिकारीले पोखरेली जनताको ४० वर्षे सपना विभिन्न अवरोधलाई पार गर्दै साकार हुन लागेको बताए । उनले अब नेपाल सरकार अर्थ मन्त्रालय र चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकबीच ऋण सम्झौता हुने जानकारी दिए ।
सम्झौताको पुरै प्रक्रिया पुर्याउन कम्तीमा दुई महिना लाग्ने र त्यसपछि तीब्र गतिमा विमानस्थलको निर्माण कार्य थालिने अधिकारीले बताए । उनले भने, ‘मुख्य कुरो अर्थमन्त्रालयमा गएर अड्केको थियो । सरकारले सिएएमसीबीच निर्माण सम्झौतालाई अनुमोदन गरेपछि बाटो खुलेको छ । सबै काम छिटो हुन्छ ।’ यो विमानस्थल चिनियाँ ठेकेदार कम्पनीले नेपाली लागतमै बनाउन लागेको छ ।
एक्जिम बैंकले ऋण पारित गरेपछि ठेकेदारले परियोजनाको नक्सा र डिजाइनको काम थाल्नेछन् । परियोजनाको नक्सा र डिजाइन तयार गर्न कम्तीमा एक वर्ष लाग्नेछ । नक्सा, डिजानइलगायत सर्वेक्षणको काम सकेर ठेकेदारले प्राधिकरणसँग सहमति माग्नेछ ।
सर्वेक्षण सकिएको तीन वर्षभित्र विमानस्थल निर्माण सकिने अनुमान गरिएको प्राधिकरणका एक कर्मचारीले बताए । ऋण सम्झौता भएपछि इन्जिनियरिङका काम सुरु हुने र निर्माण कार्य अगाडि बढ्ने उनले बताए।
अधिकारीका अनुसार अब केही जग्गा अधिग्रहणको काम बाँकी रहेको र त्यो पनि चाँडै नै सकिने छ । उनले पाँचसय ५० रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको बताए । उनले भने, ‘थोरै जग्गा अधिग्रहण गर्न बाँकी छ । त्यसपछि हामी जग्गाधनीलाई मुअब्जा दिन्छौँ । र, काम सुरु गरिहाल्छौँ ।’
प्राधिकरणले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २०६८ माघ २६ गते आह्वान गरेको टेन्डरमा चीनका तीन कम्पनी चाइना सिएएमसी कम्पनी लिमिटेड, चाइना वाटर एन्ड इलेक्ट्रिक कम्पनी र सिनो हाइड्रो योग्य भएका थिए। तीमध्ये सिएएमसीले सबैभन्दा सस्तोमा प्रस्ताव गरेको थियो। अर्थ मन्त्रालयले चीनबाट न्यून ब्याजदरमा ऋण लिए पनि प्राधिकरणलाई भने ८ प्रतिशतमा दिएको छ ।
चीनले चिनियाँ एक्जिम बैंकबाट ऋण लिएपछि चिनियाँ ठेकदारले नै विमानस्थल बनाउनुपर्ने शर्त राखेको थियो । टेन्डर प्रस्तावअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन,अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट ह्यांगरलगायत निर्माण गर्नुपर्छ।
पोखराको छिनेडाँडा बनाउन लागिएको उक्त क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन करिव ४० वर्षअघि नै तीन हजार एकसय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको पक्की धावनमार्ग हुन्छ।
वीजमाण्डुबाट