करोडौं रकम मागेर भागेका छोरा नआएपछि नन्दप्रसादको अन्त्येष्टि सरकारले गर्ने

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १०:०२ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक – छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको अन्त्येष्टी सरकारले गर्ने निर्णय गरेको छ ।

opmcमृत्यु भएको महिनौं बित्दा पनि अधिकारीको छोरा नुरप्रसाद शव बुझ्न नआएपछि मन्त्रिपरिषदको सोमवारको बैठकले नन्दप्रसादको अन्त्येष्टि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

उनको शव शिक्षण अस्पताल महाराजगन्जमा छ । बुवासँगै अनसन बसेकी आफ्नी आमालाई समेत नुरप्रसाद वेवास्ता गरिरहेको स्रोतले जनाएको छ । उनले अनसन तोडाउन सरकारसँग करोडौं रकम माग गरेका थिए ।

त्यस्तै नन्दप्रसादकी श्रीमती गंगामायाको जीवनयापनको व्यवस्था पनि सरकारले गर्ने भएको छ । सरकारको विशेष आग्रहमा नन्दमायाले गत साता अनसन तोडेकी थिइन् ।

गोर्खा फुजेलका नन्दप्रसाद र गंगामायाले सशस्त्र द्वन्द्वकाल विद्रोहीपक्षबाट मारिएको आफ्नो छोरो कृष्णप्रसादको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेका थिए । अनसन बसेकै अवस्थामा नन्दप्रसादको निधन भएको थियो । गंगामायाले भने गत साता अनसन तोडेकी थिइन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय महिला आयोगको सदस्यमा भगवती घिमिरेलाई नियुक्त समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us