चितवन, १० कात्तिक– गुण्डागर्दी आरोपमा पक्राउ परेका एमाले सम्वद्ध युवासंघका कार्यकर्ता दिनेश रेग्मी उर्फ चमेरो डनलाई छाड्न एमाले नेतृत्वले प्रहरीलाई दबाब दिएको छ ।
स्रोतका अनुसार एमाले नेता सुरेन्द्र पाण्डेदेखि जिल्ला अध्यक्ष जगन्नाथ थपलिया लगायतले चमेरो डन छाड्न दबाब दिएका हुन् । भरतपुर १२ पोरखेली टोलका ४६ वर्षीय चमेरोलाई प्रहरीले गुण्डागर्दी आरोमा आइतबार पक्राउ गरेको थियो ।
उनिविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाइएको चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले काठमाण्डु टुड्ेलाई जानकारी दिए । थापाले घुमाउरो शैलीमा चमेरो डन छाड्न एमाले नेतृत्वले दबाब दिएको स्वीकार गरे ।
यद्यपि कसैको दबाबमा गुण्डागर्दीमा संलग्नलाई नछाड्ने उनले बताए । ‘छाड्न दबाब दिएको भन्न त मिल्दैन’, थापाले भने, ‘टेलिफोन गरेर किन र कसरी पक्राउ गरिएको भन्ने बारेमा जानकारी माग्नुभएको छ ।’
स्रोतका अनुसार एमाले नेताहरुले गृह मन्त्रालयको नेतृत्व गरेको पार्टीका कार्यकर्तालाई अकारण पक्राउ गरिएको भन्दै एसपी थापाको सरुवा गर्ने धम्कीसमेत दिएका छन् । एसपी थापाका अनुसार चमेरो डनले गुण्डागर्दीमा ग्याङ परिचालन गर्ने गरेका थिए ।
चमेरोले राजनीतिक आवरणमा व्यापारीलाई धम्क्याएर रकम असुल्ने, ठेक्का पट्टा कब्जा गर्नेजस्ता कार्य गर्दै आएको प्रहरीको भनाइ छ । एसपी थापाले गुण्डागर्दी नियन्त्रण अभियानका क्रममा अन्यलाई समेत पक्राउ गरिएको र अभियान जारी रहने बताए ।