तिहारका बेला भएको सवारी दुर्घटनाका दोषी सबैलाई कारबाही हुने

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १:४९ मा प्रकाशित

accidentकाठमाण्डु, १० कात्तिक- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नुवाकोट, गोरखा र ओखलढुंगामा गम्भीर लापरबाहीका कारण गाडी दुर्घटना भएको देखिएको उल्लेख गर्दै उक्त बाटामा पर्ने सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलको कार्यकक्षमा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला तथा यातायात र सुरक्षासँग सम्बन्धित अधिकारीको आइतबार बसेको बैठकले गम्भीर लापर्बाहीका कारण भएको दुर्घटनाका दोषी सबैलाई कारबाही गर्ने निर्णय गरेको हो ।
चालकहरूको गम्भीर लापर्बाही, त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मी, यातायात व्यवस्था कार्यालय, व्यवसायीको कमजोर अनुगमन र नियमनका साथै सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिबाट दुर्घटना भएको निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित दोषी सबैलाई कारबाही निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकले नुवाकोट, गोरखा र ओखलढंगामा भएको गाडी दुर्घटनाका चालकको लाइसेन्स एक वर्षभित्रको भएमा खारेज गर्ने र दिने यातायात कार्यालयका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ । अस्थायी रुट परमिटका कारण दुर्घटना भएको पाइएमा त्यस्तो अनुमति दिने अधिकारीलाई समेत जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यातायात व्यवसायी समितिहरूले संस्थागत रूपमा सञ्चालन गरेका सवारी साधन दुर्घटना भएको पाइएमा तिनका गाडी तत्काल सञ्चालनमा रोक लगाई सडक सुरक्षाको प्रत्याभूति भएपछि मात्र चलाउन दिने निर्णयसमेत भएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।
बैठकले सडक दुर्घटना न्यूनीकरण गर्न चालकलाई दिइने लाइसेन्स वितरण प्रणाली, चालकको उमेर, योग्यता, सवारी सञ्चालनको रुट परमिट, सडकमा ड्युटीमा बस्ने सुरक्षाकर्मीको दायित्व तथा जिम्मेवारी स्पष्ट किटान गरी कार्यान्वयनमा ल्याउन र भविष्यमा यस प्रकारका दुर्घटना नदोहोरिने सुनिश्चितता गर्न गृह र भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशनसमेत दिएको   छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us