मोरङ, ९ कात्तिक- मोरङको सिजुवास्थित ईलाका प्रहरी कार्यालयको हिरासतभित्रै एकजनाको मृत्यु भएपछि शनिबार दिनभर तनावग्रस्त सो क्षेत्र आइतबार सामान्य बनेको छ ।
पीडित पक्ष र प्रहरीबीच सहमति भएपछि जनजीवन सामान्य बनेको हो । पीडित पक्ष र स्थानीय प्रशासनबीच इलाका प्रहरी कार्यालयमा भएको वार्तामा मृतक परिवारलाई किरिया खर्चबापत ३० हजार रुपैयाँ दिने, पीडित परीवारका एक सदस्यलाई प्रहरीमा जागिर दिलाइदिने, घटनाबारे जिल्लास्तरीय छानबिन समिति बनाउने लगायत सहमति भएको हो ।
सहमतिपछि कोशी अञ्चल अस्पतालमा पोष्र्टमार्टम गराई मृतकको शव परिवारले जिम्मा लिएको छ । मादक पदार्थ सेवन गरेको आरोपमा शुक्रबार पक्राउ परेका मोरङ सिजुवा–३ का ५७ वर्षीय मधु ताजपुरियाको प्रहरी हिरासतभित्रै मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको थियो ।
हिजो विरोध प्रदर्शनमा उत्रिएका स्थानीयसँगको झडपमा प्रहरी निरीक्षक बाबुराम पोखरेलसहित ७ जना घाइते भएका थिए ।