ओखलढुंगा, ९ कात्तिक- ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ मा आइतबार जीप दुर्घटाना हुँदा नौ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु १२ जना घाइते भएका छन् । ठूलाछाप गाविसको निशंखेबाट सदरमुकामतर्फ आउँदै गरेको बा ५ च ५८७५ नम्बरको जीप जीप पल्टिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल मिसन लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा ठुलाछाप-७ का मणिराम भट्टराई, ठुलाछाप-८ का तेजबहादुर बस्नेत, रामप्यारी बस्नेत, दोहिनी भट्टराई, ठुलाछाप-५ का सरिता खड्का, टीका बस्नेत, चोलेन्द्र खत्री र वाक्सा-९ का चालक मनकुमार राई छन् । एकजनाको सनाखत हुन बाँकी छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक डम्बर विकले बताए । उकालो सडकमा लोड तान्न नसकेपछि जीप पछाडि हटेर सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।