राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ६:३० मा प्रकाशित

danfeअछाम, ९ कात्तिक- अछामको रामारोशन क्षेत्रमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा पुगेको छ । जिल्लाको अति विकट मानिने रामारोशन क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान नपुगेपछि जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा रहेको हो ।
जिल्लाको पर्यटकीय क्षेत्र मानिएको रामारोशनको जङ्गलमा डाँफेले आफ्नो वासस्थान बनाउँदै आएका थियो । ठूलो सङ्ख्यामा बस्दै आएको सहजै देख्न सकिने रामारोशनमा अचेल भने विरलै मात्र डाँफे देखिने गरेको स्थानीय कालीबहादुर बुढाले बताए ।  गाउँलेले आजकाल छिटफुटरुपमा मात्र डाँफ देखिने गरेको र यसको संरक्षका लागि कुनै निकायबाट पहल हुन नसकेको उनी बताउँछन् ।

जिल्लाको पहिचान र विकासको सम्भावना बोकेको पर्यटकीय क्षेत्र रामारोशनको संरक्षण र सम्वद्र्धनमा नेपाल सरकारको ध्यान नपुगेकाले रामारोशनमा वासस्थान बनाएका पक्षी र जङ्गली जनावर लोप हुने अवस्था रहेको स्थानीय समाजसेवी गोविन्द साउदले बताए ।
विकट, ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयस्तरबाटै एकजुट भएर लागेमात्र लोपोन्मुख अवस्थामा रहेका सम्पदा र जङ्गली पक्षीको संरक्षण गर्न सकिने उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष चन्द्रप्रसाद ढुङ्गानाको भनाइ छ ।

जिल्लाका वन र वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको र वन्यजन्तुको संरक्षणको काम राष्ट्रिय, निकुञ्ज विभागले गर्ने भएकाले जिल्लामा वन्यजन्तुको संरक्षणसम्बन्धीको कुनै कार्यक्रम नरहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत भक्तराज गिरीले जनकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us