
रौतहट, ९ कात्तिक- रौतहटका विभिन्न बजारमा एलपी ग्यासको अभाव भएको एक महिना बित्न लाग्दा पनि त्यसको सहज आपूर्ति हुन सकेको छैन ।
ग्यासको अभाव भएपछि चन्द्रनिगाहपुरलगायत विभिन्न क्षेत्रमा रहेका कतिपय ग्यास डिलरले कृत्रिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको सर्वसाधारणले गुनासो गरेका छन् ।
चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा एक महिनायता खाना पकाउने ग्यासको कालोबजारी व्यापक मात्रामा बढेको छ । यसबारे स्थानीय उपभोक्ताले पटकपटक गुनासो गर्दा पनि स्थानीय प्रशासन मौन रहँदै आएको छ ।
रौतहटमा करिब एक दर्जनभन्दा बढी ग्यास कम्पनीका डिलर रहेका छन् भने अधिकांश डिलरमा दैनिकरुपमा ग्यासको आपूर्ति पनि भइरहेको छ । तर उनीहरूले ग्यासको बिक्री वितरण पसलबाट नगरेर घर वा अन्य गोदामबाटै कालोबजारी गर्ने गरेका छन् ।
डिलरहरूले प्रतिसिलिण्डर रु दुई हजारदेखि दुई हजार ५०० सम्म चर्को मूल्य लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।