काठमाण्डु, ८ कात्तिक- यमपञ्चकको अन्तिम दिन आज सबै नेपालीका घर(घरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाउँदैछन् ।
भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर ३५ मिनेटमा रहेको भए पनि सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई पूजा गर्ने परम्परा छ । दिदीबहिनीले दाजुभाइलाई दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।
त्यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ । दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले काठमाण्डुको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर दर्शन गरी टीका लगाउँछन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।