काठमाण्डु, ७ कात्तिक- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्रबिनाको संविधान आए अस्वीकार गर्ने बताएका छन् ।
पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार बिहान काठमाण्डुको गौशालामा गाई पूजा गर्दै संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्नुपर्ने बताए ।
संघीयता, शासकीय स्वरुप, धर्मनिरपेक्षता, र गणतन्त्रलगायत विषयमा जनमत संग्रह हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै थापाले हिन्दु धर्मको रक्षा तथा संस्कृतिलाई निरन्तरता दिन गाई पूजा गरिएको बताए ।
सोही क्रममा थापाले नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने माग गर्दै पार्टीले थालेको हस्ताक्षर अभियानको शुभारम्भ समेत गरेका थिए ।
हस्ताक्षर अभियान देशका ७५ ओटै जिल्लामा शुक्रबारदेखि देखि १५ दिनसम्म जारी रहने राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । गाई पूजाले मुलुकलाई पुनः हिन्दू राष्ट्र कायम गर्न सकारात्मक दबाब पुग्ने विश्वास उनको थियो ।