असुरक्षित रुपमा बच्चा जन्माउने घटेनन्

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते १:४३ मा प्रकाशित

पाल्पा, ७ कात्तिक– आमा सुरक्षित कार्यक्रम लागू भए पनि जिल्लाका केही गर्भवतीले असुरक्षित रुपमा बच्चा जन्माउने गरेको पाइएको छ ।
जिल्लामा कुल गर्भवतीमध्ये झन्डै १६ प्रतिशत असुरक्षित रुपमा गाउँघरमा नै सुत्केरी हुँदै आएका छन् । जिल्लामा सुरक्षित रुपमा बच्चा जन्माउने उद्देश्यले सञ्चालित आमा सुरक्षित कार्यक्रम लागू भए पनि अझै सचेतनाको अभाव छ ।
जिल्लामा वार्षिक ९३९ को हाराहारीमा गर्भवतीले घरमा नै परम्परागत रुपमा बच्चा जन्माउने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७०-०७१को जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चार हजार ९२६ गर्भवतीले अस्पतालमा आएर सुरक्षित रुपमा बच्चा जन्माएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा झन्डै एक हजारभन्दा बढीले अस्पतालमा पुगेर सुरक्षित रुपमा बच्चा जन्माउन थालेका हुन् ।

आमा र शिशुको स्वास्थ्यसम्बन्धी सचेत बनेपछि जिल्लामा कुल गर्भवतीमध्ये ८४ प्रतिशतले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत कल्पना पौडलको भनाइ छ ।

अघिल्लो आव २०६९÷०७० मा तीन हजार ८७६ गर्भवतीले स्वास्थ्य संस्थामा सुरक्षित रुपमा बच्चा जन्माएका थिए । गर्भवतीमध्ये ६१ प्रतिशत अस्पतालमा सुत्केरी गराएका हुन् । जिल्लामा २२ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us