नेपाल सम्वतका अवसरमा कसले के दिए शुभकामना ?

काठमाण्डु टुडे २०७१ कार्तिक ७ गते १:०१ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताले नेपाल संवत् ११३५ को अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति रामवरण यादवले नेपाल संवत् ११३५ को अवसरमा सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीको सुख, शान्ति र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस पर्वले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता, सद्भाव, समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्न सफल हुने आशा आफूले लिएको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री सुशील कोइरालाले नेपाल संवत् ११३५ आरम्भ भएको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष आगमनले नेपाली जनताको समृद्धिको सपना साकार पार्न प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवत्् जनस्तरबाट सुरु गरिएको नेपालको पहिलो मौलिक संवत् भएको बताउँदै मुलुक नयाँ संविधान निर्माणको तयारीमा रहेका बेला मनाउन लागिएको यस संवत्ले नयाँ युगमा प्रवेश गर्ने ढोका खोल्ने विश्वास आफूले लिएको जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us