काठमाण्डु, ६ कात्तिक–प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दिपावलीका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
संविधान निर्माण गरी मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराउन सकिने भन्दै उनले त्यस कार्यमा सबैको साथ आवश्यक रहेको उल्लेख गरेका छन् । सन्देशमा उनले संविधानसभा उत्साहका साथ लोकतान्त्रिक संविधान लेखनमा जुटेको दाबी समेत गरेका छन् । सङ्घीयता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधान निर्माणपछि मात्र राजनीतिक र संवैधानिक संंक्रमण अन्त्य हुने जनाएका छन् ।
‘तिहारले सबै नेपालीमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् । सबै राजनीतिक दलका नेताहरूलाई आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि थप उत्प्रेरित गर्न सकोस्’, प्रधामन्त्रीले भनेका छन् ।