तिहारको तेश्रो दिन, आज लक्ष्मी पूजा

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ३:४४ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– तिहारको तेश्रो दिन आज घरघरमा श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइँदैछ ।

laxmi pooja.2
जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन्’ भन्ने धार्मिक विश्वासका आधारमा दिपावलीसहित लक्ष्मी पूजा गर्ने परम्परा चलिआएको छ ।

विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोमा चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई बनाउने गरिन्छ ।

आजकै दिन गाईलाई लक्ष्मीको प्रतिकका रुपमा पूजा गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणसहित असुरहरूको नाश गरेपछि कात्तिक कृष्ण औंसीका दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको स्मरणमा दीपावली गर्ने चलन चलेको किंवदन्ती पनि छ ।

आज साँझ दीपावली गरिसकेपछि आफ्नो धन कोठामा लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गरिन्छ । लक्ष्मीपूजा गरेपछि धनदौलत कसैलाई दिए लक्ष्मीले घरमा बास गर्दिनन् भन्ने जनविश्वाससमेत रहिआएको छ ।
आज साँझ युवती समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच साँझ कन्याहरू विभिन्न समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us