अर्थमन्त्री सरकारी उद्योग सञ्चालन गर्न अनुदार : मन्त्री बस्नेत

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १२:०० मा प्रकाशित

वीरगञ्ज, ५ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले उदार अर्थतन्त्रको मसिहा भन्ने अर्थमन्त्री रामशरण महतले उद्योग सञ्चालनमा अनुदार बनेको आरोप लगाएका छन् ।

mahesh basnetवीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा वीरगञ्ज चिनी कारखाना र औषधि लिमिटेडलाई पुनः सुचारु गर्न सकिने बताउँदै मन्त्री बस्नेतले उद्योग चलाउने विषयमा अर्थमन्त्री अनुदार भएको आक्षेप लगाएका हुन्।

‘बन्द उद्योगमध्ये यी दुई वटा उद्योगलाई सञ्चालनको पहिलो प्राथमिकतामा राखियो। तर, रकम दिने मन्त्री नै उदार नभएपछि योजना अलमलमा छु,’ मन्त्री बस्नेतको भनाइ थियो।

सरकारी स्वामित्वका बन्द उद्योगहरु सञ्चालन गर्ने योजना अर्थमन्त्रालयले बजेट नदिएकाले अबरुद्ध भएको मन्त्री बस्नेतले बताए। करिब ३३ करोड रुपैयाँमा ती दुवै उद्योग सञ्चालन गर्न सकिने भन्दै उनले निकासाका लागि पहल भने नछाडिएको बताए।

वीरगञ्ज र विराटनगरमा कम्पनी रजिष्ट्रारको कार्यालय खोल्ने विषयमा पनि अर्थमन्त्रालय ‘हलुवामा बालुवा’ बनेको गुनासो उनले गरे। तर, मन्त्रालय ती स्थानमा कार्यालय खोल्ने गृहकार्यमा अघि बढिसकेको उनले स्पष्ट पारे। उद्योगसँग सरोकार राख्ने सबै प्रक्रियाहरु उद्योगमन्त्रालयको मातहतमा हुनुपर्ने धारणा मन्त्री बस्नेतको छ।
बाराको सिमरामा प्रस्तावित सेजको गृहकार्य अघि बढेको र लगानीकर्तालाई आह्वान गरिएको उनले बताए। लगानीका लागि आफूहरु सरकार–निजीक्षेत्र–सहकारी साझेदारीको अवधारणामा अगाडि बढेको भन्दै सहकार्यका लागि निजीक्षेत्रसँग आग्रह पनि गरे।

निर्माणाधिन काठमाण्डु – तराई द्रुतमार्ग र निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले वीरगञ्ज–पथलैया क्षेत्रलाई मापदण्डसहितको औद्योगिक करिडर बनाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्का अध्यक्ष अशोककुमार वैद्यले राजनीतिक नेतृत्वलाई आर्थिक विकासका एजेण्डामा ऐक्यबद्ध हुन आग्रह गरे। उनले विगतमा मुख्य राजनीतिक दलका शीर्ष नेताले वीरगञ्जमै गरेको विकासको १२ बुँदै प्रतिबद्धतालाई विर्सिएको गुनासो पनि गरे।

कार्यक्रमअघि मन्त्री बस्नेतले वीरगञ्ज चिनी कारखानको अवलोकन पनि गरेका थिए। उनि आवद्ध दल एमालेका कार्यकर्ताले आयोजना गरेका सम्मान कार्यक्रममा पनि सरिक भए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us