काठमाण्डु, ५ कात्तिक– उत्तर छिमेकी चीनले नेपालसँग बिप्पा सम्झौता र सुपुर्दगी सन्धि गर्न चाहेको छ । चीन भ्रमणमा गएका उपप्रधान एवम् गृहमन्त्री बामदेव
गौतमसँग चिनिया पक्षले औपचारिक रुपमा ती दुई प्रस्ताव राखेको हो ।
साताव्यापी चीन भ्रमणबाट बुधबार स्वदेश फर्किएका मन्त्री गौतमले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले चीनसँग बिप्पा गर्ने विषयलाई प्राथमिकतामा राखेको जवाफ आफूले उक्त पक्षलाई दिएको बताए ।
‘चीनले बिप्पा र सुपुर्दगी सन्धि गर्ने औपचारिक प्रस्ताव राखेको छ’, गौतमले भने, ‘मैले चीनसँग बिप्पा गर्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको बताएँ ।’ उनले ततकाल सम्झौता नभए पनि प्रक्रिया भने अघि बढ्ने जनाए ।
यस्तै भेटका अवसरमा चिनियाँ अधिकारीहरुले सशस्त्र प्रहरीका लागि आधुनिक तालिम केन्द्र भवन निर्माणका लागि आर्थिक र भौतिक सहयोग गर्ने बचन दिएको उल्लेख गरे । चीनले नेपालका शान्ति, विकास र स्थायित्व चाहेको बताए ।
आफूले एक चीन नीतिप्रति नेपालको पूर्वप्रतिबद्धता दोहोर्याएको बताउँदै उनले नेपालमा चीन विरोधी गतिविधि हुन नदिने दाबी गरे ।
अर्को एक फरक प्रसंगमा गौतमले आसन्न सार्क शिखर सम्मेलनमा कुनै सुरक्षा खतरा नरहेको जनाए । सरकार सार्क सम्मेलनको सुरक्षामा पूर्ण प्रतिबद्ध रहेको तथा सार्कको सुरक्षा र व्यवस्थापकीय तयारी पूरा भइरहेको उनको भनाइ थियो ।