एसियाडमा कोरिया गएका खेलाडीले फोहोर गर्दा नेपाललाई जरिवाना

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १:१९ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिकखेलाडी र पदाधिकारीले फोहोर गर्दा १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) को आयोजनलाई नेपालले जरिवाना तिर्नुपरेको छ ।
आफू बसेको भिलेजको कोठामा भित्ता बिगारेको ,फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरुले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन् । उनले लेखेका छन्,‘लाजमर्नु भयो,नेपालका खेलाडीले भित्ता कोरेको,कोठा बिगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्यो । १७ औं एसियन खेलकुद आयोजकलाई ।’
दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाडमा सहभागी नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्वीकारे । उनले भने,‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई जरिवाना लागेको हो ।’
इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए । नेपालले ९४ लाख पाँच हजार रुपैयाँ डिपोजिट गरेको थियो । भिलेज खर्च र जरिवाना कटाएर आयोजकले १६ लाख एक सय १२ रुपैयाँ फिर्ता गरेको उनको भनाइ छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us