काठमाण्डु, ४ कात्तिक- तिहारअघि नै संविधानका विवादमा सहमति खोज्ने भन्दै आवासीय बैठकमा जुटेका प्रमुख तीन दलका शीर्ष नेताको बैठकस्थलमा सञ्चारकर्मीलाई
प्रवेशमा रोक लगाइएको छ ।
समाचार संकलनका लागि बैठकस्थल राजधानीको गोकर्ण रिसोर्ट पुगेका पत्रकारलाई सुरक्षा कर्मीले गेटमै रोकेका हुन् । बैठकस्थल पुगेका पत्रकार अशोक दाहालले माथिको आदेश भन्दै सुरक्षाकर्मीले भित्र जान नदिएको काठमाण्डु टुडेलाई बताए ।
नेताका सहयोगीले समेत पत्रकारका फोन उठाएका छैनन् । पत्रकारहरु रिसोर्टको गेटमा समाचारका लागि पर्खिएको खबर पाएपछि एमाले नेता माधव नेपालले टेलिफोन गरी कार्यालय फर्कन भनेका थिए । बैठक आज नसकिने भन्दै उनले फर्कन आग्रह गरेको दाहालले जनाए ।
संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीलगायत संविधानका विवादित विषयमा तिहारअघि नै सहमति खोज्न भन्दै काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
भोलिसम्म चल्ने बताइएको बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित सबै दलका तीन तीन नेता सहभागी छन् ।