काठमाण्डु, ४ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशमशेर जबराले नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने वा नराख्ने बारे जनमतसंग्रह गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष जबराले आफ्नो पार्टीले संविधानसभाको पहिलो बैठकमा नै धर्मनिरपेक्षतावारे विरोध जनाएको बताउँदै यो जबरजस्ती माथिबाट लादिएकोले यसवारेमा जनमतसंग्रहबाटै टुंगो लगाउनुपर्ने बताएका छन् । उनले भने–‘‘ ८१ प्रतिशतभन्दा बढी जनता हिन्दू धर्म मान्ने भएको मुलकमा धर्मनिरेपक्षता स्विकार्य हुँदैन । त्यसैले नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउनुपर्छ ।’’
कार्यक्रममा अध्यक्ष जबराले धर्मनिरपेक्ष राष्ट्रको विपक्षमा पार्टीभित्र भोलिदेखि नै अनौपचारिक छलफल शुरु गर्ने जानकारी दिएका छन् । जबराले भने–‘‘हामीले पहिलो संविधानसभामा पनि धर्मनिरेपक्षतावारे कुनै छलफल नभएको भन्दै लिखित रुपमै विरोध दर्ता गराएका थियौं । यसवारेमा हाम्रो अहिलेपनि विरोध नै छ । यसको टुँगो जनताको रायबाट हुुनुपर्छ भन्ने पक्षमा हामी छौं, हिन्दू राष्ट्र राख्ने वा धर्मनिरेपक्षताको विरोधमा कसरी जाने भन्नेवारेमा पार्टीमा भोलिबाट छलफल शुरु हुन्छ । पार्टीले एउटा धारणा तय गरिसकेपछि अन्य पार्टीहरुसँग पनि हामी छलफल गछौं ।’’
जबराले धर्मनिरेक्षताको विरुद्धमा भोलिबाट आफ्नो पार्टीभित्र औपचारिक छलफल गर्ने र त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा र काँग्रेस नेता खुमबहादुर खड्का लगायतका धर्मनिरेक्षताका विपक्षमा रहेकाहरुसँग पनि छलफल गर्ने समेत जानकारी दिएका छन् ।
यद्धपी जबराले आफ्नो पार्टीले गणतन्त्र स्विकार गरिसकेको बताउँदै अब कार्यन्वयन गर्नतिर लाग्ने समेत बताएका छन् ।
जबराले राज्यको पूर्नसंरचनामा पनि आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताउँदै मधेसमा दुई प्रदेश र बाँकी पाँच प्रदेशगरि सात प्रदेश बनाउनुपर्ने बताएका छन् । उनले भने–‘‘संघीयतामा जाँदा एक जातीय प्रान्त बनाउनुहुँदैन । संघीयता पहिचान, सामथ्र्य र भूगोलका आधारमा गरिनुपर्छ ।’’
जबराले सहमती या प्रक्रिया जसरी भएपनि मुलुकले तोकिएकै मिति माघ ८ मा लोकतान्त्रिक संविधान पाउने विश्वास व्यक्त गरेका छन् । अब पनि सहमतीको नाममा समय खेर फाल्नु हुँदैन ।
उनले भने–‘ सहमती या प्रक्रिया जुन प्रक्रियाबाट भएपनि माघ ८ मै संविधान जारी गर्नुपर्छ । सहमती पनि नगर्ने अनि प्रक्रियामा पनि नजाने हो भने कसरी संविधान जारी हुन्छ ? त्यसैले दुई मध्ये एक प्रक्रिया अवलम्बन गर्नुको विकल्प छैन ।’’