नेपालको आर्थिक स्वतन्त्रता विश्वकै कम

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ८:१० मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक – आर्थिक स्वतन्त्रतामा नेपालको अवस्था विश्वका सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशहरुमध्येमा परेको छ ।

क्यानडास्थित फ्रेजर इन्स्ट्यिूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा १५२ देशहरुमध्ये १२६ देशमा परेको छ । जबकी अघिल्लो वर्ष नेपाल १२४ स्थानमा रहेको थियो । नेपालले १० पूर्णाङकमा ६.१६ अंक प्राप्त गरेर दुई स्थान तल झरेको हो ।

सरकारले मुलुकमा लगानीको वातावरण निर्माण हुँदै गइरहेको दाबी गरिरहेका बेलामा नेपाल नेपालको अर्थिक स्वतन्त्रता अघिल्लो वर्षको तुलनामा खस्किएको छ ।

प्रतिवेदनमा १५२ राष्ट्रका नीति तथा योजना अध्ययन गरी आर्थिक स्वतन्त्रता मापन गरिन्छ । जसमा प्रमुख परिसुचकहरु व्यक्तिगत स्वतन्त्रता र छनौट, बजार प्रवेश गर्ने सहजता, निजी सम्पत्तिको सुरक्षा, विधिको शासन लगायत पर्छन् ।

आर्थिक स्वतन्त्रता सबैभन्दा बढी भएको देशमा हङकङ परेको छ । जसले १० पूर्णाङ्कमा ८.९८ अंक प्राप्त गर्दै पहिलो बन्न सफल भएको हो । दोस्रो स्थानमा ८.५४ अंकसहित सिंगापुर, तेस्रो स्थानमा न्यू जिल्याण्ड ८.२५, चौथोमा स्विट्जरल्याण्ड ८.१९, पाँचौमा मरिशस ८.०९, छैठौंमा यूएई ८.०५, सातौंमा क्यानडा ८.००, आठौंमा अष्ट्रेलिया ७.८७, नबौंमा जोर्डन ७.८६ र दशौं मुलुकमा चिली ७.८४ पर्न सफल भएका छन् ।

बेलायत र अमेरिका १२औं स्थानमा परेका छन भने जापान २३औं स्थानमा, जर्मनी २८, फ्रान्स ५८, इटाली ७९, मेक्सिको ९१, रुस ९८, ब्राजिल १०३, चीन ११५, भारत ११० स्थानमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा कम स्वतन्त्रता भएका दश देशमा भेनेजुएला, रिपब्लिक अफ कंगो, जिम्बाब्वे, आर्जेन्टिना, अल्जेरिया, इरान, च्याड, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र म्यानमार रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us