काठमाण्डु, ४ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टी पनि यथास्थितिवादको शिकार बनेको बताएका छन् ।
स्थानीय पार्टी कमिटीले दिपावली र नेपाल संवत ११३५ को अवसर पारेर काठमाण्डुको गोलढुंगामा मंगलबार गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा चन्दले पार्टीभित्र परिवर्तनकारी र यथास्थितिवादी विचारबीच संघर्ष चलेको बताए । यथास्थितिवादी नेतृत्वका कारण पार्टी पंक्तिमा निराशा व्याप्त भएको उनको भनाइ थियो ।
कुनै नेताको नाम उल्लेख नगरे पनि उनको संकेत अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापातर्फ थियो । पछिल्लो समय कार्यदिशाको विषयलाई लिएर नेकपा–माओवादीमा सचिव चन्द र अध्यक्ष वैद्य तथा महासचिव थापा पक्षबीच अन्तरसंघर्ष चर्किएको छ । नेता चन्दले पार्टीभित्रको यथास्थितिवादी शक्तिले धोका दिए पनि आफूहरु लडेरै मर्ने तर आत्मसमर्पण गर्ने पक्षमा नरहेको प्रष्ट्याए ।
‘हाम्रो पार्टीभित्र यथास्थितिवादी धारा र क्रान्तिकारी धाराबीच संघर्ष छ’, चन्दले भने, ‘कालान्तरमा कोही नेता बिग्रेलान्, तर हामी लडेर मर्न तयार छौं, तर आत्मसमर्पण गर्दैर्नौं ।’ उनले घुमाएर आफू परिवर्तनकारी विचारको नेता भएको दाबी गरे ।
चन्दले बाहिर हल्ला भएजस्तो तत्काल पार्टी फुट्ने सम्भावना भने नरहेको जिकिर गरे । अर्को फरक प्रसंगमा चन्दले संक्रमणकालको महत्वपूर्ण पक्ष आफ्नो पार्टीलाई अलग्याएर संविधान जारी गरिए जनताले जलाउने चेतावनी दिए । सहअस्तित्व र साझेदारीसहितको संविधान बन्ने ग्यारेण्टी भए आफूहरु संविधान लेखन प्रक्रियामा सहभागी हुने उनको भनाइ थियो ।
चन्दले आफूहरुलाई थुनेर र मारेर सक्ने सपना देखेको भए त्यस्तो सपना नदेख्न सरकारलाई चुनौती दिए । १० वर्षे सशस्त्र जनयुद्धलाई आपराधिक गतिविधि सिद्ध गर्ने कोसिस भइरहेको भन्दै उनले त्यसो नगर्न भने ।
कार्यक्रममा एमाओवादी नेृतृ हिसिला यमी, एमाले सभासदल रामवीर मानन्धर तथा काँग्रेसका सुदर्शन आचार्य लगायतले पनि शुभकामना दिएका थिए ।