काठमाण्डु, ४ कात्तिक– हिन्दू नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार हो । धार्मिक मान्यता अनुसार यमराजको सन्देशबाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ ।
कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा लिइन्छ । पहिलो दिन काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, र अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
धार्मिक मान्यताअनुसार वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलिराजालाई कात्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य माग गर्न पाउने वरदान दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ ।
यस्तो गरेमा धनकी देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी हुन्छन् भन्ने जनविश्वास रहिआएको छ ।
पौराणिक कथाअनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।