गल्ती गर्ने जनावरलाई पनि जेल !

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते २:२२ मा प्रकाशित

गोरखा, ४ कात्तिक– चारैतिर ढुंगे पर्खालको अग्लो घेरा । भित्र, बाहिर गर्न नमिल्ने गरी तालाबन्दी गरिएको एउटा ढोका । एउटा पर्खालभित्र ५० वटा चौंरी, याक र झोंपा । नजिकैको अर्को पर्खालभित्र करिब १० वटा घोडा । यो कसैले पालेको नभएर थुनामा परेका याक, चौरी, झोपा र घोडा हुन् ।
गोरखाको हिमालपारिको सामागाउँ गाविसमा बाली चोर्ने याक, चौंरी, झोपा, घोडाहरुलाई झ्यालखानामा थुन्ने चलन छ । गाविसको निर्णयबाट स्थानीयले वडा नम्बर तीनमा दुईवटा ढुंगे पर्खालको घेराबारा बनाएका छन् । यसलाई स्थानीय तिब्बती भाषामा झाङ्ग्रा भन्छन् ।
यहाँ बाली चोर्ने घरपालुवा पशुचौपाया थुन्ने गरिएको स्थानीय आङ्वा लामाले बताए ।
‘सरकारी नीति होइन, गाउँकै रीति हो,’ लामा भन्छन्, ‘गाउँको निर्णयले वडा नम्बर तीनमा दुईवटा झाङ्ग्रा बनाएका छौं । कसैको याक, चौरी, घोडाले अरुको बाली खायो भने यही ल्याएर थुन्छौं ।’ अनि जसको याक, चौरी, झोपा वा घोडा हो उसले ५० रुपैयाँ जरिवाना तिरेर मात्र फिर्ता लाने गर्छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us