प्रचण्ड भन्छन्, ‘दिल्लीले नेपालका गरिबका कुरा सुन्दैन’

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते १३:०३ मा प्रकाशित

prachandaबारा, ३ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाओवादी, मधेसी र जनजाति मिले दुनियाँको कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् ।

बाराको सिम्रौनगढमा सोमबार भएको कार्यक्रममा उनले एमाओवादी, मधेसी र जनजाति मिलेर पहिचान र अधिकारका लागि लड्ने बताए । आफूहरु तीन शक्ति मिलेर नेपाललाई कसैको हातमा जान नदिने उनको भनाइ थियो ।

‘एमाओवादी, मधेसी र जनजाति मिलेर पहिचान र अधिकारका लागि लड्ने हो’, प्रचण्डले भने, ‘हामी तीनथरि मिलेर पहिचान र अधिकारको लडाईं लड्यौं भने दुनियाँको कुनै शक्तिले परास्त गर्न सक्दैन ।’

उनले दिल्लीका शासक वर्गको सम्बन्ध नेपालका राणा र ठकुरीहरुसँग रहेको भन्दै उसले गरिब र मजदुरको आवाज नसुन्ने प्रष्ट्याए । उनले वर्तमान सुशील कोइराला नेतृत्वको सरकारलाई बहिरो र अन्धोको संज्ञा दिँदै आफूहरुका माग दिल्लीलाई दबाब दिएपछि मात्र सरकारले सुन्ने गरेको दाबी गरे ।

प्रचण्डले अब हुने नयाँ आन्दोलनले सिंहदरबारको अन्धो र बहिरो शासकलाई घुँडा टेकाउने दाबी गरे । अर्को फरक प्रसंगमा उनले एमाओवादी र मधेसी दलको सहकार्य भत्काउन षड्यन्त्र भइरहेको दाबी गरे । त्यस्तो षड्यन्त्रप्रति मधेस केन्द्रित नेता सचेत हुनुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us