महिनावारी हुँदा छुट्टै बाटाे हिड्नुपर्ने

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते १०:३३ मा प्रकाशित

बाजुरा, ३ कात्तिक –  बाजुरामा छाउपडी प्रथाले गहिरो जरो गाडेको छ । छाउपडीलाई पाँच दिनसम्म छुट्टै गोठमा राख्नु, सात दिनसम्म पानीसमेत छुन नदिनु, गोरस खान नदिनु, घ्यू खान नदिनु त सामान्य नै भए पनि छाउपडी हिँड्ने बाटोसमेत अलग्गै बनाइएका छन् ।

chhaupadi pratha_20130815बाजुराको जुकोट गाविसमा यस्तै भएको छ । जुकोट गाविसमा ढोगगर्नाको बाटोमा महिनावारी भएका बेला हिँड्न नमिल्ने भन्दै लक्षित वर्गका लागि छुटयाइएको बजेटले छाउपडी हिँड्ने बाटो निर्माण गरिएको हो ।

बाजुराको जुकोट गाविसमा लक्षित वर्गका लागि छुटयाइएको बजेट छाउपडीका लागि छुट्टै हिँड्ने बाटो र शौचालयको प्यान किन्न प्रयोग भएको बताइएको छ ।

गाविसमा जाने बजेटमध्ये लक्षित वर्गका लागि अनिवार्य छुटयाइनुपर्ने १० प्रतिशत बजेटले उनीहरुको सामाजिक विकासका कार्यक्रममा खर्च नगरी जुकोट गाविसकै मिलेमतोमा छाउपडी हिँड्ने बाटो बनाउन प्रयोग भएको हो ।

जुकोट गाविसमा रहेको कुलाडिल कालाऋषिको मन्दिर नजिकको ढोगगर्नामा छाउ भएका महिलाले हिँड्न नमिल्ने भएकाले महिलाकै भनाइअनुसार अर्को बाटो बनाउन प्रयोग गरिएको जुकोट गाविसका लेखा सहायक करवीर शाहीले बताए ।

गाविसले छुटयाएको उक्त रकम छाउपडी हिँड्ने बाटो बनेको र महिला मञ्चका लागि छुटयाइएको रकम स्वास्थ्य चौकीमा प्रसूति सामग्री खरिद गर्न र शौचालयको प्यान किन्न प्रयोग गरिएको पाइएको छ । लक्षित वर्गका लागि सङ्घसंस्थाले छुटयाउने बजेटमा पनि तोकिएको कार्यक्रमभन्दा छुट्टै प्रयोग गरी बिल मिलाएर पास गर्ने गरेको स्थानीय गोविन्द जैसीको गुनासो छ ।

महिलालाई सिलाइकटाइका लागि छुटयाइएको रकमले शौचालयको प्यान र स्वास्थ्य चौकीमा सामान किन्न दिएपछि कसरी क्षमता विकासका काम गर्न सकिन्छ भन्नेमा केही महिला भने चिन्तित देखिन्छन् । तर गाउँघरमा महिलाले महिलालाई पर्ने समस्या जुन सामाजिक कुसंस्कारका रुपमा रहेको छ त्यसैमा प्रयोग भइरहेको छ ।
जुकोट गाविस प्रतिनिधि पात्र मात्र भए पनि जिल्लाका अधिकांश गाविसमा लक्षित वर्गका लागि गएको बजेट सही ठाउँमा प्रयोग भइरहेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us