नेता मर्न तयार नभएसम्म परिवर्तन असम्भव : किराती

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ९:०४ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – एकीकृत माओवादी नेता गोपाल किराती मधेसको मुद्धालाई संस्थागत गराउन मधेस दौडाहामा निस्किएका छन् ।

Gopal_Kiratiचितवनमा थारु मोर्चाको बैठक गराएर किराती चन्द्रनिगाहपुर हुँदै जनकपुर सम्मको यात्रामा निस्केका छन् । देशमा परिवर्तन ल्याउनका लागि फेरि एकपटक मधेस आन्दोलनको जरुरत भएको र आफू सहिद हुन तयार रहेको किरातीले बताएका छन् ।

‘जनयुद्धमा लड्दा लड्दै धेरै साथीहरु सहीद हुनुभयो, मर्न हिँडेका हामी न सहीद भयौं, न देशमा आफूले चाहेको परिवर्तन नै आयो’  किरातीले भने , ‘अब काठमाण्डुको आन्दोलनले देशमा परिवर्तन हुने सम्भावना छैन, त्यसैले अब मधेसबाट आन्दोलनको ज्वारभाटा ल्याउनका लागि म मधेसतिर केन्द्रित हुँदैछु । ’

किरातीले मधेस आन्दोलनको पहिलो सहीद आफैं हुने घोषणासमेत गरेका छन् । किरातीले आफू मर्न तयार भएरै दशवर्षे जनयुद्धमा होमिएको भन्दै त्यसबेला संयोगले बाँचेको र यसमा त्यति गर्व नलागेको बताए ।

‘दस वर्षे जनयुद्धमा मात्रै नभएर त्यस अघिदेखि नै मर्न तयार भएर हामी युद्धमा होमिएका हौं’ उनले भने- ‘हामीसँगै लड्दा लड्दै धेरै साथीहरु सहीद हुनुभयो, संयोगले बाँचियो । उत्पीडित वर्गलाई मुक्ति दिलाउने सपना बोकेर मर्न हिँडेका हामी न सहीद भयौं, न देशमा आफूले चाहेको परिवर्तन नै आयो ।’

सोमबार सर्लाहीको मलंगवामा आयोजित संयुक्त राष्ट्रिय मोर्चाको भेलामा प्रमुख अतिथि बनेका किरातीले भने – ‘नेताहरु मर्न तयार नभएसम्म जनताले नपत्याउने रहेछन् ।’
किराती मंगलबार महोत्तरीमा र बुधबार धनुषामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us