२२ दलका २२ सय मान्छे जम्मा पारेर प्रचण्ड संविधान नबनाउने खेलमा : ओली

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ८:२८ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाएका छन् ।

KP-Oliरिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार कार्यक्रममा उनले संविधान निर्माण गर्न लाग्छु भन्ने सर्तमा एमाओवादी प्रचण्डलाई राजनीतिक समितिको संयोजक बनाएको भन्दै अहिले उनी २२ दलका २२ सय मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।

देशलाई तल पारेर प्रचण्ड आफू ठूलो हुने योजनामा रहेको दावी गर्दै उनले भने–‘‘देशलाई तल पारेर ब्यक्तिलाई ठूलो पार्ने काम एमालेले कदापि गर्दैन र त्यो कुरा प्रचण्डले कल्पना नगरेपनि हुन्छ । ’’

ओलीले भने–‘‘माओवादी सहमतिमा नआएपनि हामीसँग स्पष्ट बहुमत र दुई तिहाई छ । संख्याको आधारमा गएर भएपनि हामी संविधान जारी गरेरै छाड्छौं ।

विरोधलाई सामना गर्दै प्रक्रियाबाट संविधान जारी गछौ । कसैले रोक्न सक्दैन । सहमति गर्न बार्ता गर्नु पर्ने बेलामा आन्दोलन गर्नु राम्रो भएन । उहाँहरुले गलत काम गर्नु हुँदैछ । यसबाट ब्याक हुनु पर्छ ।’’ ओलीले प्रचण्ड आन्दोलनबाट ब्याक नभए विगतमा १० वर्षे जनयुद्धमा गएर पछुताए जस्तै पछुताउने समेत चेतावनी दिएका छन् ।

ओलीले ८० प्रतिशत जनताले लोकतान्त्रिक संविधान निर्माणको लागि प्रतिनिधि चुनेर पठाईसकेको बताउँदै फेरि पनि दुई चार जना असफल नेताहरुले जनमत संग्रहको माग गर्नुको कुनै अर्थ नभएको स्पष्ट पारेका छन् । उनले भने–‘‘चार जना नेता असफल हुँदैमा जनमत संग्रहको माग गर्नु भनेको फेरि पनि मुलुकमा वितण्डा मच्चाउन खोज्नु हो । यसको अहिले कुनै आवाश्यक छैन ।’’

उनले एमाओवादी र मधेसवादी दलले भने जस्तो धेरै प्रदेशमा मुलुकलाई नटुक्राउने स्पष्ट पार्दै चार प्रदेशमा लगिने बताए । आफू कोशी, राजधानी, गण्डकी र कर्णाली प्रदेशको पक्षमा रहेको बताउँदै सहमतिकोलागि बढीमा छ प्रदेशसम्म जान सकिने तर माओवादीहरु ६ प्रदेशमा नआए चार प्रदेशमा आफुहरु फर्कने चेतावनी दिए ।

‘‘राष्ट्रिय संसद भवन नभएर भाँडामा बस्नु परेको छ । १० प्रदेश बनाएर गर्भनर, मुख्य मन्त्री, मन्त्री, संसदको कार्यालय र आवास गृह अहिले बनाएर संघीयता संस्थागत गर्न सकिन्छ ?– ओलीले प्रश्न गरे । उनले मुलुक धेरै प्रदेशमा गए आउँदो १०० वर्ष प्रदेश निर्माण गर्नेमा समय खर्चिने समेत स्पष्ट पारेका छन् । ओलीले औषधी सेवन गरेझैं गरि विशेष स्फूर्ति देखाएर धेरै प्रदेश बनाउनुपर्छ भन्नु हाँस्यास्पद भएको समेत प्रष्ट पारेका छन् । उनले केन्द्रले स्रोत जुटाएर प्रदेश चलाउन नसकिने पनि बताएका छन् ।

उनले सानो देश नेपाललाई धेरैवटा संघीय राज्यमा लगेर फाईदा नभएको उल्लेख गर्दै सबैलाई चित्त बुझाउन आफूहरु संघीयतामा गएको समेत सो अवसरमा स्पष्ट पारे ।
ओलीले समग्र मधेस एक प्रदेश बनाउनेहरुले फापर फल्ने पहाडलाई धेरै टुक्रामा टुक्राउने कुरा गर्नु हास्यास्पद भएको भन्दै फापर फल्ने पहाड र अन्नको उर्वर भूमि तराई समेटेर प्रदेश बनाईने स्पष्ट पारे ।

पूर्वसहमति अनुसार प्रधानमन्त्री सुशिल कोइरालाले माघ ८ गते संविधान बने पनि नबनेपनि पद छाड्नु पर्ने भन्दै प्रधानमन्त्रीले संविधान जारी नभए आफूले पद नछाड्ने अभिब्यक्ति दिएको भन्नेमा आफूलाई विश्वास नभएको बताए ।

ओलीले भने–‘‘प्रधानमन्त्रीले माघ ८ गते संविधान जारी नभए पद छाड्दिन भन्नु भएको भए गलत भन्नु भएको हो । सहमति अनुसार प्रधानमन्त्रीले संविधान जारी भए पनि नभए पनि छाड्नु पर्छ । त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्छ । प्रधानमन्त्रीले माघ ८ मै संविधान आउँछ भनेको भएर अहिले नै अविश्वास गर्नुहुँदैन । तर पनि अब प्रधानमन्त्री कोइरालाले माघ ८ गतेपछि पद छाड्नैपर्छ त्यसको विकल्प छैन ।’’

पार्टीभित्र माधवकुमार नेपाल र आफूबीच कुनै मतभेद नरहेको स्पष्ट पार्दै उनले महाधिवेशनको राप र ताप सेलाईसकेकोले अब एकताबद्ध भएर अघि बढ्ने समेत स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us