विर्तामोड, ३ कात्तिक– झापामा अज्ञात हतियारधारी समूहले दुई पत्रकारमाथि सांघातिक आक्रमण गरेको छ ।
नेपाल पत्रकार महासंघ झापाका कार्यालय सचिव खेम बराल र स्थानीय अर्जुनधारा दैनिककी सम्वाददाता रेजिना रोदनमाथि आइतबार राति आक्रमण भएको हो ।
कार्यालयको काम सकेर घर फर्कंदै गर्दा आइतबार राति ९ बजेको समयमा करिब १० जनाको संख्यामा रहेका अपरिचित व्यक्तिहरुको समूहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेको पीडितले बताएका छन् ।
आक्रमणबाट घाइते दुवैको विर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गहिरो चोट लागेको छ ।
यसैबीच आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले विर्तामोडका अमन सुब्बा र दुर्गा धिमाल तथा शनिश्चरेका अनिस सुब्बालाई पक्राउ गरेको छ ।